
काठमाडौँ । कालीकोटका तीन स्थानीय तहका उच्च हिमाली तथा वन क्षेत्रहरूमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) फेला परेको छ। संरक्षण तथा जैविक विविधता अनुगमनमा संलग्न सरकारी तथा गैरसरकारी संस्थाहरूका अनुसार जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा रेडपान्डाको उपस्थिति पुष्टि भएको हो।
तिलागुफा नगरपालिका–१० स्थित रुरुबञ्चु पाटन, शुभकालिका गाउँपालिका–६ को हाउडी लेक क्षेत्र तथा महावै गाउँपालिका–२ अन्तर्गतको महावै पाटनमा रेडपान्डा भेटिएको जनाइएको छ। यी क्षेत्रहरू रेडपान्डाको सम्भावित बासस्थानका रूपमा परिचित रहेका छन्।
हुरन्डेक नेपालका कालीकोट जिल्ला संयोजक दिलीपकुमार शाहीका अनुसार तिलागुफा नगरपालिका–१० को रुडुबञ्चु संरक्षण वन क्षेत्रमा जैविक विविधता अनुगमन गर्ने क्रममा रेडपान्डा देखिएको हो। उनले स्थानीय समुदायलाई रेडपान्डा संरक्षणमा सक्रिय बनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिए।
“रेडपान्डाको मुख्य बासस्थानका रूपमा रहेका निगालो र बाँसका वन जोगाउन स्थानीयलाई निरन्तर आग्रह गर्दै आएका छौँ,” शाहीले भने, “समुदायको सहभागितासँगै संरक्षणका गतिविधिहरू प्रभावकारी बन्दै गएका छन्।”
तिलागुफा नगरपालिकाका प्रमुख महेन्द्रबहादुर शाहीले पनि रुरुबञ्चु पाटन क्षेत्रमा रेडपान्डा भेटिनु स्थानीय जैविक विविधताका दृष्टिले सकारात्मक संकेत भएको बताए। उनले दुर्लभ वन्यजन्तुको संरक्षणका लागि स्थानीय तहले आवश्यक पहल र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
संरक्षणकर्मीहरूका अनुसार रेडपान्डाको उपस्थिति पुष्टि हुनु उक्त क्षेत्रको पर्यावरणीय महत्व र जैविक विविधताको समृद्धिको संकेत हो। यसले वन तथा वन्यजन्तु संरक्षणप्रति स्थानीय समुदायको भूमिका अझ महत्वपूर्ण बनेको उनीहरूको भनाइ छ।

