
काठमाडौँ । चीनको राजधानी बेइजिङमा गर्मीको तापक्रम उच्च बिन्दुमा पुगेका बेला शुक्रबार साँझ भने एउटा विशेष कार्यक्रमले हिमाली वातावरणको अनुभूति दिलायो। फोर सिजन होटलमा आयोजित ‘नेपाल–चीन सगरमाथा साहसिक उत्सव’ ले केही घण्टाका लागि बेइजिङलाई सगरमाथाको संसारसँग जोडिदियो।
कार्यक्रमस्थल हिमालका मनमोहक तस्बिर, सगरमाथाका दृश्य, नेपाली तथा चिनियाँ सांस्कृतिक प्रस्तुतिहरूले सजिएको थियो। विश्वकै अग्लो शिखरसँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्वतारोहीहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।

चीनस्थित नेपाली दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा नेपालबाट २४ जना अनुभवी पर्वतारोही सहभागी भएका छन्। सगरमाथासँग जोडिएका आफ्ना अनुभव, संघर्ष, सफलता र साहसका कथाहरू बताउन उनीहरू बेइजिङ पुगेका हुन्।
सहभागीमध्ये कतिपयले एकपटक त कतिपयले पटक–पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। उनीहरूका लागि सगरमाथा केवल विश्वको सर्वोच्च शिखर मात्र नभई जीवनका अविस्मरणीय अनुभव र यात्राको प्रतीक बनेको छ।
कार्यक्रममा बोल्दै विश्व कीर्तिमानी आरोही लाक्पा डेन्डी शेर्पाले सगरमाथाको चुचुरोमा पुग्दाको अनुभूति स्मरण गरे। उनले उपस्थित करिब २०० नेपाली तथा चिनियाँ नागरिकलाई सम्बोधन गर्दै संसारको सबैभन्दा अग्लो स्थानमा उभिँदाको रोमाञ्चक क्षण शब्दमार्फत चित्रण गरे।
‘त्यहाँ हावा निकै पातलो हुन्छ, प्रत्येक सासका लागि संघर्ष गर्नुपर्छ, तर तल हेर्दा सम्पूर्ण संसार आफ्नै सामु फैलिएको देखिन्छ,’ विश्व कीर्तिमानी आरोही शेर्पाले भने।
आफ्नो प्रेरणादायी सम्बोधनमा उनले आफू विश्वको सर्वोच्च शिखरसम्म पुगेको यात्रा कुनै ठूलो अवसरबाट नभई नेपालको एक सामान्य हिमाली गाउँबाट सुरु भएको स्मरण गराए। उनका अनुभव र कथाले कार्यक्रममा उपस्थितहरूलाई सगरमाथाको साहस, चुनौती र प्रेरणासँग अझ नजिक बनाएको थियो।

