
काठमाडौँ । विश्व अटोमोबाइल उद्योगमा गुणस्तर र दिगोपनाका लागि परिचित जीडब्लुएम (ग्रेट वाल मोटर्स) नेपाली विद्युतीय सवारी बजारमा नयाँ पुस्ताको प्रविधियुक्त एसयूभी ल्याउने तयारीमा जुटेको छ। कम्पनीले हालसम्म मोडलको नाम सार्वजनिक नगरे पनि प्रारम्भिक जानकारीले विद्युतीय सवारी क्षेत्रका उपभोक्ता र पारखीहरूको ध्यान आकर्षित गरेको छ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थितिलाई विस्तार गरिसकेको जीडब्लुएमले नेपालमा आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र स्मार्ट ड्राइभिङ अनुभवलाई प्राथमिकतामा राख्दै नयाँ विद्युतीय एसयूभी भित्र्याउने संकेत दिएको हो।
उपलब्ध विवरणअनुसार उक्त एसयूभीले एकपटकको पूर्ण चार्जमा करिब ५२० किलोमिटरसम्म यात्रा गर्न सक्नेछ। गाडीमा अत्याधुनिक डिजिटल प्रविधि, बुद्धिमान सुरक्षा प्रणाली तथा प्रयोगकर्तामैत्री सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ। आकर्षक बाह्य डिजाइन, प्रिमियम फिनिसिङ र विशिष्ट लाइटिङ शैलीले यसलाई बजारमा फरक पहिचान दिने विश्वास कम्पनीको छ।
नयाँ मोडलमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, ब्लाइन्ड स्पट मनिटरिङ, १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यु, सातवटा एयरब्याग तथा उद्योगकै अग्रणी एईबी र एमईबी सुरक्षा प्रणाली उपलब्ध हुने बताइएको छ। साथै, २० भन्दा बढी एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) सुविधाले सुरक्षित र सहज यात्रामा सहयोग पुर्याउनेछ।
स्मार्ट ककपिट, कफी ओएस ३.० एआई प्रणाली, वन–टच कन्ट्रोल तथा भेन्टिलेसनसहितको ६–तरिकाले समायोजन गर्न मिल्ने विद्युतीय ड्राइभर सिटले गाडीलाई थप आरामदायी र प्रविधिमैत्री बनाउनेछ। स्तरीय ब्याट्री सुरक्षा प्रणाली र शहरदेखि राजमार्गसम्मका यात्राका लागि उपलब्ध चार स्मार्ट ड्राइभिङ मोड पनि यसका प्रमुख आकर्षणका रूपमा रहेका छन्।
कम्पनीले नयाँ विद्युतीय एसयूभीबारे विस्तृत जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमै सार्वजनिक गर्ने जनाएको छ।

