
काठमाडौँ। विश्व वातावरण दिवस २०२६ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै नागरिक तथा सरोकारवाला निकायको सक्रिय सहभागितामा जोड दिएका छन्।
शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वच्छ ऊर्जाको प्रयोग, वृक्षरोपण, प्राकृतिक सम्पदाको संरक्षण तथा जलवायु परिवर्तनसँग अनुकूलन गर्न सक्ने क्षमता विकासमार्फत भावी पुस्ताका लागि सुरक्षित, दिगो र हरित भविष्य निर्माण गर्न सकिने बताएका छन्।
उनले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन आज विश्व समुदायका लागि गम्भीर चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यसको असर भविष्यको मात्र नभई वर्तमान समयमै स्पष्ट रूपमा अनुभूत भइरहेको बताएका छन्। नेपालमा हिमाल पग्लिने, अनियमित वर्षा हुने, बाढीपहिरो बढ्ने तथा वातावरणीय असन्तुलनका घटनाहरू जलवायु संकटका प्रत्यक्ष उदाहरण भएको उनको भनाइ छ।
राष्ट्रपति पौडेलले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल तथा जैविक विविधताको संरक्षणलाई साझा जिम्मेवारी र अधिकारका रूपमा ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले विश्व वातावरण दिवसले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्दै सबैलाई थप जिम्मेवार, सचेत र सक्रिय बन्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको छ। यस वर्ष नेपालमा ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ।

