
काठमाडौं । नेपाल र भारतको सीमावर्ती क्षेत्र मध्य तराई (सेन्ट्रल तराई ल्यान्डस्केप) मा जंगली हात्तीको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ।
नेपालका चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज तथा भारतको वाल्मीकि टाइगर रिजर्भ समेटिएको यस भू–परिदृश्यमा ३ हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा अझै पनि अखण्ड वन क्षेत्र कायम रहेको छ।
यस क्षेत्रमा हाल ८० भन्दा बढी जंगली हात्ती, करिब ७ सय एकसिङ्गे गैँडा र झण्डै २ सय बाघको बासस्थान रहेको बताइएको छ।
सन् १९८० को दशकसम्म यस क्षेत्रमा केवल १३ वटा जंगली हात्ती मात्र रहेको अभिलेख पाइए पनि हाल स्थायी रूपमा बसोबास गर्ने हात्तीको संख्या ८० नाघिसकेको छ। संरक्षणकर्मीहरूका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने हात्तीहरू पूर्वी नेपालको झापा हुँदै पश्चिमतर्फ सर्दै चितवन राष्ट्रिय निकुञ्जसम्म पुग्ने गरेका छन्। तीमध्ये धेरै हात्ती नेपालमै स्थायी रूपमा बस्न थालेका छन्।
यसैबीच बढ्दो जनसंख्या, पूर्वाधार निर्माण र भूमिको उपयोगमा आएको परिवर्तनका कारण वन क्षेत्रमाथि दबाब बढेको छ। पछिल्ला केही दशकमा मध्य तराई भू–परिदृश्यमा करिब २५ प्रतिशत वन क्षेत्र नष्ट भएको तथा वन क्षेत्रहरू खण्डीकरणको समस्याबाट प्रभावित भएको अध्ययनहरूले देखाएका छन्।
विशेषज्ञहरूका अनुसार हात्तीको बसाइँसराइ र स्थायी बसोबासको वर्तमान प्रवृत्ति जारी रहेमा भविष्यमा यस क्षेत्रमा हात्तीको संख्या अझ बढ्न सक्छ। यसले मानव–हात्ती द्वन्द्वका घटनाहरू पनि वृद्धि हुने सम्भावना रहेको उनीहरूको चेतावनी छ।
हात्तीको संख्यामा वृद्धि भएसँगै मानव–हात्ती द्वन्द्व व्यवस्थापन प्रमुख चुनौतीका रूपमा देखिएको छ। यही चुनौतीलाई मध्यनजर गर्दै मध्य तराई भू–परिदृश्यमा मानव र हात्तीबीचको सहअस्तित्वलाई सुदृढ बनाउने उद्देश्यसहित नयाँ संरक्षण परियोजना अघि बढाइएको छ। परियोजनाले मानव–हात्ती द्वन्द्वका प्रमुख कारणहरूको पहिचान गरी दीर्घकालीन समाधान खोज्ने तथा स्थानीय समुदाय र वन्यजन्तुबीच सहअस्तित्व प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।

