२०८३ आश्विन २० • मंगलबार

चितवनमा बाघसँग वन्यजन्तु फोटोग्राफर ओमप्रकाश यादवको आँखा जुदाई

Text size

काठमाडौं । नेपालका संरक्षण तथा वन्यजन्तु फोटोग्राफर ओमप्रकाश यादवले फोटो खिच्ने क्रममा बाघसँग देखा देख भएको छ। फोटोग्राफर यादवले खिचेको उक्त तस्वीरमा रोयल बंगाल बाघ क्यामेरातर्फ सिधै हेर्दै गरेको देखिन्छ।

“बाघ देख्न निकै कठिन हुन्छ, तर बफर जोन क्षेत्रमा हिँडिरहेका बेला अचानक यसको सामना भयो,” उनले स्मरण गर्दै भने। “बाघ केही क्षण मात्र देखापर्‍यो र झाडीभित्र हराउनुअघि तस्वीर खिच्ने छोटो अवसर प्राप्त भयो।”

फोटोग्राफर यादवले खिचेको दुर्लभ बाघको त्यो तस्वीरले बेलायतबाट प्रकाशित हुने प्रतिष्ठित बीबीसी वाइल्डलाइफ म्यागजिनको जुन २०२६ अंकको मुखपृष्ठमा स्थान पाएको छ।

बाघको तीक्ष्ण दृष्टि, स्पष्ट विवरण र प्राकृतिक वन वातावरणलाई उत्कृष्ट रूपमा प्रस्तुत गरिएकाले सम्पादकीय टोलीले यसलाई मुखपृष्ठका लागि छनोट गरेको जनाएको छ।

वन्यजन्तु तथा संरक्षण फोटोग्राफीमा सक्रिय यादवले नेपालका राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र, घाँसे मैदान, वनजंगल तथा हिमाली भूभागमा पाइने दुर्लभ जीवजन्तु र तिनको बासस्थानलाई आफ्नो क्यामेरामार्फत विश्वसामु ल्याउँदै आएका छन्। उनको काम संरक्षण, शिक्षा, कथा प्रस्तुति र फोटोग्राफीलाई एकसाथ जोड्ने माध्यमका रूपमा परिचित छ।

मुखपृष्ठमा प्रकाशित बाघको तस्वीर उनले गत वर्षको नोभेम्बरमा चितवन राष्ट्रिय निकुञ्ज नजिकैको मेघौली क्षेत्रमा खिचेका थिए। यादवका अनुसार उक्त बाघसँगको भेट पूर्ण रूपमा अप्रत्याशित थियो।

उनले वन्यजन्तु फोटोग्राफी धैर्यता, प्रकृतिको ज्ञान र जंगलको प्राकृतिक लयप्रतिको सम्मानमा आधारित हुने बताए। उनका अनुसार उत्कृष्ट तस्वीरहरू योजनाबद्ध पछ्याइ वा नाटकीय दृश्यबाट मात्र होइन, प्रकृतिसँगको संयमित सहयात्राबाट जन्मिन्छन्।

बीबीसी वाइल्डलाइफ म्यागजिनको जुन २०२६ अंकमा प्रसारण भइरहेको बीबीसीको ‘टाइगर आइल्यान्ड’ शृङ्खलालाई विशेष रूपमा समेटिएको छ। सोही सन्दर्भमा नेपालबाट सङ्कलित बाघका विभिन्न तस्वीरहरूको समीक्षा गरेपछि सम्पादकीय टोलीले यादवको तस्वीरलाई मुखपृष्ठका लागि रोजेको हो।

यो उपलब्धिले नेपाली वन्यजन्तु फोटोग्राफीलाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउनुका साथै नेपालको जैविक विविधता र संरक्षण प्रयासलाई विश्वसामु उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर