
काठमाडौं । डब्लुडब्लुएफ नेपालले आफ्नो ३३औँ स्थापना दिवसको अवसरमा विशेष गरि तीन दशकभन्दा लामो संरक्षण यात्राका उपलब्धिहरू स्मरण गरेको छ।
कार्यक्रममा सन् २००६ मा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षण क्षेत्रका अग्रणी व्यक्तित्वहरूको स्मृतिमा स्थापित पाँचवटा छात्रवृत्ति कार्यक्रमअन्तर्गत संरक्षणसम्बन्धी विषयमा उच्च शिक्षा अध्ययनरत १० जना उत्कृष्ट विद्यार्थीलाई ‘मेमोरियल स्कलरसिप’ प्रदान गरिएको थियो।
डब्लुडब्लुएफ नेपालले सन् २००७ देखि हालसम्म १५१ जना विद्यार्थीलाई यस्ता स्मृति छात्रवृत्ति प्रदान गरिसकेको जनाएको छ।
यस पहलले नेपालको संरक्षण अभियानलाई अगाडि बढाउन सक्षम नयाँ पुस्ताका संरक्षणकर्मी तयार पार्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको संस्थाको विश्वास छ।
मे १९ मा आफ्नो स्थापना दिवस समारोहको प्रमुख आकर्षणका रूपमा डब्लुडब्लुएफ नेपालले युवा नेतृत्व विकास र वातावरण संरक्षणमा गरेको दीर्घकालीन योगदान झल्काउने विशेष स्मरण भिडियो सार्वजनिक गरेको थियो। उक्त भिडियोमार्फत संरक्षण क्षेत्रमा युवाहरूको भूमिका र संस्थाले उनीहरूमा गरेको लगानीलाई उजागर गरिएको थियो।

