
काठमाडौं । डब्लुडब्लुएफ नेपालले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै हालै आफ्नो ३३औँ स्थापना दिवस मनाएको छ। कार्यक्रममा विगत तीन दशकभन्दा बढी समयदेखि संरक्षण क्षेत्रमा हासिल गरिएका उपलब्धिहरूको समीक्षा गर्दै मानव र प्रकृतिको दिगो भविष्य निर्माणप्रति संस्थाको प्रतिबद्धता पुनः व्यक्त गरिएको थियो।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै विभिन्न देशका राजदूत, विकास साझेदार, संरक्षणकर्मी, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि, युवा अनुसन्धानकर्ता तथा डब्लुडब्लुएफ नेपालका शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रमुख अतिथि डा. शर्माले परम्परागत रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै सन् १९९३ मा स्थापना भएदेखि नेपालको जैविक विविधता संरक्षण र दिगो विकास प्रवर्द्धनमा संस्थाले पुर्याएको योगदानबारे चर्चा गरेका थिए।
डा. गुरुङले ३३ वर्षको यात्राले संरक्षण क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै यस सफलतामा समुदाय, साझेदार संस्था तथा सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको बताए। आगामी चुनौतीहरूको सामना गर्न नवप्रवर्तन, सहकार्य र दृढ प्रतिबद्धताको आवश्यकता रहेको उनको भनाइ थियो।
मे १९ मा स्थापना दिवसको अवसरमा डब्लुडब्लुएफ नेपालले युवा नेतृत्व विकास तथा वातावरण संरक्षणमा गरेको दीर्घकालीन लगानी झल्काउने विशेष स्मरण भिडियो समेत सार्वजनिक गरेको थियो।

