२०८३ आश्विन २० • मंगलबार

बीचमै रोकिएको नाटक 'लुसिफर राइजिङ: अ जेन-जेड प्ले' पुनः प्रदर्शनमा

Text size

काठमाडौं । केही समयअघि विवादका कारण रोकिएको नाटक ‘लुसिफर राइजिङ: अ जेन–जेड प्ले’ पुनः प्रदर्शन भएको छ। थापागाउँस्थित मण्डला थिएटर नेपालमा मञ्चन भइरहेको क्रममा स्थगित गरिएको यो नाटक मंगलबारदेखि फेरि नियमित रूपमा प्रदर्शन गरिने भएको हो।

जेठ १ गतेदेखि प्रदर्शनमा आएको उक्त नाटक जेठ ११ गतेबाट रोकिएको थियो। त्यसबेला नाटकका लेखक तथा निर्देशक सहलेशले राजनीतिक दबाब र धम्कीका कारण मञ्चन अवरुद्ध भएको दाबी गरेका थिए। तर, एक थिएटर नेपालले त्यस्ता आरोप पुष्टि हुने कुनै प्रमाण पेश नभएको उल्लेख गरेको छ।

संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा नाटकको प्रदर्शन रोकिएको विषयले रंगमञ्च क्षेत्रमै नकारात्मक प्रभाव पारेको भन्दै लेखक तथा निर्देशकले दबाब वा धम्कीका कारण नभई अन्य आन्तरिक कारणले एकलौटी रूपमा मञ्चन स्थगित गरेको निष्कर्ष निकालिएको जनाएको छ।

यसैबीच, निर्माता संस्था मझुवा बगर जनकला मञ्चले सहलेशलाई हालका लागि नाटकसँगको जिम्मेवारीबाट हटाएको जानकारी पनि एक थिएटर नेपालले दिएको छ। संस्थाका अनुसार सरकारविरुद्ध भ्रम फैलाउने तथा समग्र नाट्य समुदायको प्रतिष्ठामा असर पुग्ने गतिविधि गरेको आरोपमा उक्त निर्णय गरिएको हो।

एक थिएटर नेपालका अध्यक्ष अनिल सुब्बाले निर्माता पक्ष, कलाकार तथा सरोकारवालाबीचको छलफलपछि निर्माण संस्थाले स्वीकृत गरेको मूल स्क्रिप्ट अनुसार नाटक पुनः मञ्चन गर्ने सहमति भएको बताए। साथै, नाटकघर उपलब्ध गराउने विषयमा समेत दुवै पक्षबीच नयाँ समझदारी भएको जानकारी दिइएको छ।

नाटक रोकिएपछि रंगमञ्च क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता, सिर्जनात्मक अधिकार र संस्थागत जिम्मेवारीबारे व्यापक बहस भएको थियो। अब भने विवाद साम्य भएसँगै नाटक मंगलबार साँझदेखि पुनः नियमित प्रदर्शनमा आउनेछ। नाटकको मञ्चन जेठ ३० गतेसम्म जारी रहने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर