२०८३ आश्विन २० • मंगलबार

निर्मल पुर्जाको ऐतिहासिक सफलता, ५४औं पटक ८ हजार मिटरमाथिको शिखरमा

Text size

काठमाडौं । नेपाली पर्वतारोही निर्मल पुर्जाले विश्व सगरमाथा दिवसको अवसरमा फेरि एकपटक विश्व पर्वतारोहण जगतलाई आफ्नो असाधारण क्षमताको परिचय दिएका छन्। जेठ १६, २०८३ (मे ३०, २०२६) मा उनले २८ सदस्यीय टोलीको नेतृत्व गर्दै सफलतापूर्वक सगरमाथाको आरोहण गरेका हुन्। विश्व सगरमाथा दिवस मे २९ मा हो तर प्रतिकूल मौसमका कारण चौथो शिविरमा एक दिन अतिरिक्त समय बिताउनुपरे पनि उनले धैर्य र नेतृत्व कौशल प्रदर्शन गर्दै टोलीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याएका थिए।

यो सफलतासँगै पुर्जाले ८ हजार मिटरभन्दा अग्ला विश्वका सर्वोच्च हिमालहरूमा आफ्नो ५४औं सफल आरोहण पूरा गरेका छन्। विश्व पर्वतारोहण इतिहासमा यस्तो उपलब्धि अत्यन्त दुर्लभ मानिन्छ।

कीर्तिमानमाथि कीर्तिमान

निर्मल पुर्जाको पर्वतारोहण यात्रा केवल संख्यामा सीमित छैन, यो साहस, समर्पण र असाधारण क्षमताको कथा पनि हो। केही समयअघि पाकिस्तानको विश्वकै चुनौतीपूर्ण हिमालमध्ये एक मानिने नांगा पर्वत सफलतापूर्वक आरोहण गर्दै उनले ८ हजार मिटरभन्दा माथिका हिमालहरूमा आफ्नो ५०औं आरोहण पूरा गरेका थिए। यससँगै उनी यस्तो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो पर्वतारोही बने।

त्यसबेला उनले नेपाल–बेलायतबीचको दुई सय वर्ष लामो मित्रताको सम्मानस्वरूप नांगा पर्वतको चुचुरोमा गोर्खा सैनिक र बेलायती विशेष फौजको झण्डा एकसाथ फहराएर विशेष सन्देश दिएका थिए। त्यो क्षण केवल व्यक्तिगत सफलता मात्र नभई दुई देशबीचको ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा समेत हेरिएको थियो।

अक्सिजनबिनाको अद्भुत उपलब्धि

पुर्जाको आरोहण यात्रालाई अझ विशेष बनाउने पक्ष भनेको उनका धेरै सफलताहरू कृत्रिम अक्सिजनबिनै प्राप्त भएका छन्। हालसम्मका ५४ सफल आरोहणमध्ये २५ वटा आरोहण उनले अतिरिक्त अक्सिजनको सहारा नलिई सम्पन्न गरेका छन्। अत्यन्त न्यून अक्सिजन भएको ‘डेथ जोन’ मा यस्तो सफलता हासिल गर्नु विश्वका सीमित पर्वतारोहीले मात्र सम्भव बनाएका छन्।

विशेषज्ञहरूका अनुसार ८ हजार मिटरभन्दा माथिको उचाइमा कृत्रिम अक्सिजनबिना लामो समय काम गर्न सक्नु असाधारण शारीरिक क्षमता, मानसिक दृढता र लामो अनुभवको परिणाम हो।

विश्राम होइन, नयाँ अभियानको तयारी

५४औं सफल आरोहणपछि काठमाडौं फर्किएका निम्सदाइको ध्यान अब नयाँ लक्ष्यतर्फ केन्द्रित भइसकेको छ। उनी केही समय आराम गरेर बस्ने पक्षमा छैनन्। पर्वतारोहण नै आफ्नो जीवन र पेशा भएको बताउँदै उनले आगामी दिनमा अझ चुनौतीपूर्ण अभियानहरू अघि बढाउने संकेत दिएका छन्।

उनको तत्कालीन योजनाअनुसार अब मकालु र कञ्चनजंघा हिमाल आरोहण गर्ने तयारी भइरहेको छ। त्यसपछि जुनको दोस्रो सातातिर उनी पुनः पाकिस्तान पुगेर विश्वको दोस्रो सर्वोच्च हिमाल के–टु आरोहण अभियानमा सहभागी हुनेछन्।

नेपाली पर्वतारोहणको नयाँ पहिचान

एक समय विश्व पर्वतारोहणको इतिहास विदेशी नामहरूले भरिएको देखिन्थ्यो। तर पछिल्ला वर्षहरूमा निर्मल पुर्जा जस्ता नेपाली पर्वतारोहीहरूले विश्व मञ्चमा नयाँ इतिहास रचेका छन्। उनीहरूले केवल हिमाल चढ्ने काम मात्र गरेका छैनन्, नेपाली पर्वतारोहणको क्षमता, नेतृत्व र साहसलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित समेत गरेका छन्।

निम्सदाइको पछिल्लो उपलब्धिले फेरि एकपटक प्रमाणित गरेको छ कि विश्वका सर्वोच्च शिखरहरूमा नेपालीहरूको योगदान केवल मार्गदर्शकको भूमिकामा सीमित छैन, उनीहरू स्वयं विश्व कीर्तिमानका स्रष्टा र पर्वतारोहणका नयाँ मानक निर्धारणकर्ता बनिसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर