२०८३ आश्विन २० • मंगलबार

‘हिमालयन लिटरेचर फेस्टिभल’ काठमाडौंमा विश्वका चर्चित स्रष्टाहरू

Text size

काठमाडौं । कविता, कथा, दर्शन, अनुवाद, चलचित्र र सिर्जनशीलताको विश्वव्यापी संगम काठमाडौंमा आयोजना भएको छ। नेपाली साहित्य, कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्यसहित आठ दिने ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप’ आयोजना गरिने भएको हो।

ह्वाइट लोटस बुकसप र कवि युयुत्सु शर्माको पहलमा आयोजना हुन लागेको महोत्सवमा विश्वका चर्चित कवि, उपन्यासकार, अनुवादक, सम्पादक, पत्रकार, चलचित्रकर्मी तथा विद्वानहरूको सहभागिता रहनेछ। जेठ २२ गतेसम्म सञ्चालन हुने यस साहित्यिक उत्सवले काठमाडौंलाई केही दिनका लागि अन्तर्राष्ट्रिय साहित्यिक राजधानीमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक युयुत्सु शर्माले विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो कार्यक्रम नेपाली साहित्य र कलाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अभियानको हिस्सा भएको बताए। उनका अनुसार यस वर्षको संस्करण अझ व्यापक र बहुआयामिक हुनेछ।

महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रयाकि स्मिथ, चर्चित कवि पौल मुल्दून, उपन्यासकार जिन हान्फ़ कोरेलिज़ , कवि तथा अनुवादक टोनी बर्नस्टोन , साहित्यिक सम्पादक मार्टिन डोयल लगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, अमेरिका र अन्य मुलुकका स्रष्टाहरू सहभागी हुनेछन्।

महोत्सवमा कविता, कथा, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता र साहित्य, सृजनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, मानसिक आघात र उपचार, ध्यान तथा सिर्जना, अनुवाद, प्रस्तुति कला र डिजिटल युगको साहित्यजस्ता समसामयिक विषयमा अन्तरक्रिया, छलफल र कार्यशाला सञ्चालन गरिनेछ।

आयोजकका अनुसार ठमेलस्थित मल्ल होटलसँगै काठमाडौंका ऐतिहासिक मन्दिर, गुम्बा तथा सांस्कृतिक सम्पदास्थलहरूमा पनि विभिन्न सत्र सञ्चालन गरिनेछन्। यसले विदेशी सहभागीलाई नेपाली सभ्यता, संस्कृति र जीवनशैलीसँग प्रत्यक्ष साक्षात्कार गराउने विश्वास गरिएको छ।

महोत्सवका कार्यक्रम निर्देशक सृजना भण्डारीका अनुसार जेठ २१ र २२ गते विशेष साहित्यिक कार्यक्रम आयोजना गरिनेछ। ती दुई दिन पुस्तक विमोचन, कविता वाचन, साहित्यिक संवाद तथा सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्।

विशेष रूपमा कविता वाचनलाई तीन पुस्तामा विभाजन गरिएको छ। वरिष्ठ पुस्ताका कवि शैलेन्द्र साकार, द्वारिका श्रेष्ठ र हरि अधिकारीदेखि नयाँ पुस्ताका अभय श्रेष्ठ, ठाकुर बेलबासे तथा महिला स्रष्टा राधिका कल्पित, उषा शेरचनलगायतका कविहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्।

यस वर्षको अर्को आकर्षण ‘पोयट्री फिल्म फेस्टिभल’ हुनेछ। नेपालमै पहिलोपटक आयोजना हुन लागेको यस विधामा कविता र दृश्य कलाको अद्वितीय संयोजन प्रस्तुत गरिनेछ, जहाँ शब्द र चलचित्रको नयाँ आयाम दर्शकले अनुभव गर्न पाउनेछन्।

आयोजकका अनुसार हिमालयन लिटरेचर फेस्टिभलले न्युयोर्क राइटर्स वर्कशप, एसियन अमेरिकन राइटर्स वर्कशप तथा अस्ट्रिया एसियन फिलोसोफर राइटर्स वर्कशपजस्ता अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरेको छ।

महोत्सवको मूल उद्देश्य नेपाली साहित्यलाई विश्व साहित्यिक नक्सामा अझ सशक्त रूपमा स्थापित गर्नु, नेपाली लेखकलाई अन्तर्राष्ट्रिय स्रष्टासँग जोड्नु तथा बहुभाषिक र बहुसांस्कृतिक संवादलाई विस्तार गर्नु रहेको आयोजकको भनाइ छ। साहित्य, संस्कृति र सिर्जनाको यो अन्तर्राष्ट्रिय उत्सवले नेपाली कला र साहित्यको पहिचान विश्वभर फैलाउने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खबर