
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पर्यटन क्षेत्रलाई अर्थतन्त्र पुनरुत्थान र आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा अघि बढाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्रको विविधीकरण, अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा नयाँ गन्तव्य विकासलाई प्राथमिकतामा राखिएको छ।
बजेटमा पर्यटन प्रवर्द्धनका लागि ‘भिजिट नेपाल २०८५’ र ‘नेपाल आरोग्य वर्ष २०२७’ जस्ता महत्वाकांक्षी कार्यक्रम समावेश गरिएका छन्। सरकारका अनुसार सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’का रूपमा मनाइनेछ, जसमार्फत नेपाललाई योग, ध्यान, प्राकृतिक उपचार र स्वास्थ्य पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी ‘भिजिट नेपाल वर्ष २०८५’ लाई सफल बनाउन आगामी आर्थिक वर्षदेखि नै पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय प्रचारप्रसार तथा पर्यटकीय सेवा विस्तारका कार्यक्रम सुरु गरिने बजेटमा उल्लेख छ। सरकारले यस अभियानमार्फत विदेशी पर्यटक आगमनमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएको छ।
पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित जनकपुरलाई विश्वस्तरीय वैवाहिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना पनि बजेटमा समेटिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुरलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा ब्रान्डिङ गरिनेछ। विवाह प्रयोजनका लागि नेपाल आउने विदेशी पर्यटकलाई भन्सार प्रक्रियामा सहजीकरण गरिनुका साथै उनीहरूले ल्याउने सामग्रीको धरौटी फिर्ता प्रक्रिया स्वचालित बनाइने व्यवस्था बजेटमा गरिएको छ।
सरकारले पर्यटनको विविधीकरणलाई प्राथमिकता दिँदै खगोलीय पर्यटन (एस्ट्रो टुरिजम) प्रवर्द्धन गर्ने घोषणा पनि गरेको छ। यसअन्तर्गत सगरमाथा आधार शिविर क्षेत्रमा खगोलीय अवलोकन केन्द्र (अब्जर्भेटरी) स्थापना गरिनेछ। हिमाली क्षेत्रको स्वच्छ आकाश र प्राकृतिक वातावरणलाई उपयोग गर्दै तारामण्डल, ग्रह–नक्षत्र तथा अन्तरिक्ष अवलोकनका गतिविधि विकास गर्ने लक्ष्य राखिएको छ।

