
काठमाडौं ।अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको पर्वतारोहण तथा हिमाली पर्यटन क्षेत्रको विकासमा अमेरिकी प्रविधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएकी छन्। उनले नेपाल र अमेरिकाबीच नवप्रवर्तन, पर्यटन तथा प्रविधिगत सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्।
नेपालस्थित अमेरिकी दूतावासद्वारा काठमाडौंमा आयोजित ‘द एसेन्ट समिट’ कार्यक्रममा बोल्दै रोजर्सले अमेरिका अवसर र समृद्धिको मात्र नभई साहस, अन्वेषण तथा नवप्रवर्तनको भावनाबाट निर्माण भएको राष्ट्र भएको उल्लेख गरिन्। उनले नेपालको हिमाल, विशेषगरी सगरमाथाले विश्वभरका साहसिक पर्यटक र पर्वतारोहीलाई निरन्तर प्रेरित गर्दै आएको बताइन्।
रोजर्सले सन् १९६३ मा अमेरिकी पर्वतारोही जिम व्हिटेकरले नेपाली शेर्पा ङवाङ जाङबु शेर्पासँगै सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षण स्मरण गर्दै उक्त उपलब्धिले नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गरिन्। उनका अनुसार छ दशकभन्दा बढी समयपछि पनि पर्यटन, शिक्षा, व्यापार, प्रविधि तथा जनस्तरको आदानप्रदानमार्फत दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ।

