
काठमाडौँ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको मुख्य रोजाइ मनोरञ्जन तथा सांस्कृतिक पर्यटन रहेको तथ्य आर्थिक सर्वेक्षण २०८२/८३ ले सार्वजनिक गरेको छ । सर्वेक्षण अनुसार नेपाल आउने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६०.२ प्रतिशत पर्यटक मनोरञ्जनका लागि नेपाल आउने गरेका छन्।
त्यसैगरी १४.४ प्रतिशत पर्यटक धार्मिक तथा तीर्थयात्राका लागि नेपाल आउने गरेका छन् भने १४.२ प्रतिशत पर्यटक पदयात्रा तथा पर्वतारोहणका उद्देश्यले नेपाल भित्रिएका छन्। बाँकी ११.२ प्रतिशत पर्यटक व्यापार, अध्ययन तथा अन्य विविध प्रयोजनका लागि नेपाल आउने गरेको सर्वेक्षणमा उल्लेख छ।
नेपालको हिमाली पर्यटन पनि उत्साहजनक देखिएको छ। सन् २०२५ मा मात्रै २ हजार ५ सय ९० पर्वतारोहण दलमार्फत ९ हजार ८ सय २० जना पर्वतारोहीहरूले विभिन्न हिमाल आरोहण गरेका छन्। यसबाट सरकारले १ अर्ब २६ करोड २६ लाख रुपैयाँ बराबर रोयल्टी सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ।

